काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ ।
बागमती नगरपालिकाभित्र भरत ताल बनाएर चर्चा कमाएका उनलाई विशेष अदालतले गत साउन २१ गते भ्रष्टाचारी ठहर गरेकोमा बिहीबार सजाय निर्धारण गरेको हो।
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका थापाबाट १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा असुल उपर गर्न पनि विशेष अदालतले आदेश दिएको छ ।
विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयर थापाले साउन २१ मा तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको थियो ।
अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको प्रावधानअनुसार निलम्बित मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इञ्जिनियर सागर पौडेललाई भ्रष्टाचारी ठहर गर्दै उनीहरूबाट बिगो बापदको ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ ४० पैसबाट जनही १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ १३ पैसा असुलउपर गर्न भनेको हो ।
तीनैजनालाई ठहर भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा त्यही दफा १७ ले निर्देश गरेबमोजिम उक्त ऐनको दफा ३ बमोजिम सजाय गर्नुपर्ने देखिएको अदालतले जनाएको छ ।