काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । बैंकले यो अवधिसम्म १३ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०।०३ प्रतिशतले कम हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २५ करोड ९७ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी २१।३२ प्रतिशतले घट्दै २० करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख र रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ०।८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०।२८ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम १५ करोड ५७ लाख रहेको थियो । यो अवधिमा बैंकको लाभांश क्षमता १४।०१ प्रतिशतबाट घटेर १२।८३ प्रतिशतमा सीमित बनेको छ ।