काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा करिब ५ अर्ब रुपियाँ खुद नाफा कमाएको छ ।
बैंकले प्रकाशित गरेको गत आवको चौथो त्रैमास अर्थात् असार मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आवमा ४ अर्ब ९१ करोड ८१ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले वृद्धि हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । खराब कर्जा घटेपछि बैंकको नाफा बढेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ७ अर्ब ६४ करोड ८३ लाख थियो ।
त्यसैगरी असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १३.८३ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ८९ लाख, कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशतले बढेर ११ अर्ब १६ करोड ६४ लाख र सञ्चालन नाफा ३१.६३ प्रतिशत बढेर ७ अर्ब ४५ करोड ४२ लाख पुगेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेर ४ अर्ब ९५ करोड ४४ लाख रुपियाँ रहेको छ भने खराब कर्जा (एनपीएल) ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ३१.४७ रुपियाँ रहेको प्रतिशेयर आम्दानी गत आवमा ३७.९९ रुपियाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ २४७.३९ रुपियाँ र मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ ।