काठमाडौं । गत आर्थिक बर्ष २०८१–८२ मा अनलाइन ठगीमा दर्ता भएको मुद्दा ३०७ प्रतिशतले बढेको देखिएको छ । नेपाल प्रहरीले तयार गरेको गत आवको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो आव २०८०–८१ मा अनलाइन ठगीमा १६६ वटा मुद्दा दर्ता भएको थियो । अघिल्लो आवमा ६७५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
गत आवमा रकमका आधारमा यस्तो ठगी १४१ प्रतिशतले बढेको देखिन्छ । आव २०८०–८१ मा १६६ मुद्दामा ३४ करोड ७२ लाख १५ हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको थियो । गत आवमा दर्ता भएको ६७५ वटा मुद्दामा भने ८३ करोड ५९ लाख ९० हजार रुपियाँ ठगी भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । गत आवमा प्रहरीले यस्ता मुद्दामा २२० जनालाई पक्राउ गरेका छन् । त्यसमा ३३ जना विदेशी नागरिक रहेका छन् ।
यो प्रहरीमा आएको आएको अनलाइन ठगी मात्रै हो । कतिपय यस्तो उजुरी नगरेको पनि हुन सक्छन् । त्यो अवस्थामा यस्तो ठगी अझ बढी हुन सक्ने जानकारवालाहरु बताउँछन् ।
गत आवमा सामाजिक सञ्जालबाट भएको ठगीमा १५९ वटा मुद्दा दर्ता भएको छ । त्यसमा ६ करोड १६ लाख १७ हजार रुपियाँ ठगी भएको प्रहरीको अनुमान छ । यस्तो मुद्दामा प्रहरीले दुई जना विदेशी सहित ५५ जनालाई पक्राउ पनि गरेको छ ।
तथ्यांकअनुसार अनलाइन बैंकिङ ठगीमा ९२ वटा मुद्दा दर्ता भएको छ । त्यसमा ११ करोड ५४ लाख ४८ हजार रुपियाँ बराबरको ठगी भएको प्रहरीको भनाइ छ । प्रहरीले यसमा १५ जना विदेशी सहित ७२ जनालाई प्रक्राउ गरेको छ ।
प्रहरीकाअनुसार अनलाइन सपिङ ठगीमा १३७ वटा मुद्दा दर्ता भएको छ । त्यसमा एक करोड ११ लाख ६१ हजार रुपियाँ ठगी भएको बताइएको छ । प्रहरीले यसमा एक जना विदेशी सहित ३७ जनालाई पक्राउ गरेको छ ।
तथ्यांकअनुसार अनलाइन पेमेन्ट ठगीमा ७४ वटा मुद्दा दर्ता भएको छ । त्यसमा ९९ लाख ६० हजार रुपियाँ ठगी भएको प्रहरीको भनाइ छ । यसमा प्रहरीले एक जना विदेशी सहित १४ जनालाई पक्राउ गरेको छ ।
यस्तै, चिठ्ठा मार्फत गरिने ठगीमा ४८ वटा मुद्दा दर्ता भएको छ । त्यसमा एक करोड ७१ लाख १३ हजार रुपियाँ ठगी भएको अनुमान गरिएको छ । प्रहरीले यसमा दुई जनालाई पक्राउ गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तै, पहिचान ठगीमा ६ वटा मुद्दा दर्ता भएको छ । त्यसमा चार लाख तीन हजार रुपियाँ ठगी भएको बताइएको छ । प्रहरीले यसमा दुई जना पक्राउ गरेको तथ्यांकमा उल्लेख छ ।