काठमाडौं । सरकारले अब सुनचाँदी तथा आभूषण व्यवसायको क्षेत्रमा कडा निगरानी राख्ने भएको छ । खासगरी ग्रे मार्केट (दुई नम्बरी) कारोबार तथा सम्पत्ति शुद्धीकरण जस्ता कार्यमा सुनचाँदी, हिरा मोती लगायतका यस्तै व्यवसायको क्षेत्र बढी संलग्न रहेको आशंकासहित सरकारले यस्तो व्यवसायको क्षेत्रमा निगरानी बढाउने भएको हो ।
सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा धातुजन्य वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) लाई जारी निर्देशन, २०८२ सार्वजनिक गर्दै यस्तो नीति अघि सारेको हो ।
खासगरी बहुमूल्य धातु वा धातुजन्य वस्तुहरु सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम, डायमण्ड, सफायर, रुबी, इमेराल्ड, जेड, पर्ल, कोरण्डम, एकुमेरीन जस्ता धातुहरुको कारोबारमा सरकारले प्रत्यक्ष निगरानी बढाउनेछ । दुई प्रतिशत वा सोभन्दा बढी सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम मिश्रण भएका वा समावेश गरिएका अन्य धातु वा वस्तु, तिनका अवस्क वा त्यस्तो धातुबाट बनेका गरगहनाहरुको कारोबारमा समेत निगरानी बढाइने आन्तरिक राजस्व विभागले जनाएको छ ।