अर्थ, लेखासहित पाँच संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्का पाँच विषयगत समितिको बैठक आज (साउन ११) बस्दै छ । बैठकमा छलफलका निम्ति विभिन्न विषय तय छ ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीसित छलफल गरिनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा परेका संशोधनबारे सांसदसँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तरक्रिया तथा छलफल गरिने तय छ ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदनमाथि छलफल गरिनेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बिहान ११ बजे बस्ने तय छ । बैठकमा सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिकाका विषयमा छलफल गरिनेछ । उक्त कार्यतालिका कार्यान्वयन निश्चित गर्ने मन्त्रालयको तयारीका विषयमा पनि छलफल गरिनेछ । समसामयिक एवं विविध विषयमा समेत छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार