कुलमान घिसिङ बर्खास्त, कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध सरकार र उद्योगीहरु एकमुख भएर लागेका थिए ।

पछिल्लो समय हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा घिसिङले उद्योगहरुमा राति विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङबाट जोगाएका थिए ।

पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताउँदै आएका छन् ।

अब विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार