१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म १२ किलोमिटर लामो केबलकार सञ्चालन हुने

काठमाडौं । निजी लगानीमा कोशी प्रदेशको बराहदेखि उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले केबलकार पूर्वाधार बनाउन बराह क्षेत्र छिन्ताङ केबलकार लिमिटेडसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । कम्पनीलाई सर्वेक्षण अनुमतिको दिन लागेको लगानी प्राधिकरणका सीइडी डा। सरोज कोइरालाले बाह्रखरीलाई बताए । उनले बराह क्षेत्र छिन्ताङ केबलकारसँग सम्झौता हुन लागेको जानकारी दिए ।

होटलसहितको केबलकार पूर्वाधार बनाउन १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । बन्न लागेको मुलुकको दोस्रो लामो केबलकार भएको छ । रिसोर्टसहित पोखराको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८० किलोमिटर लामो मुक्तिनाथ केबलको सञ्चालनको तयारी भइरहेको छ । केबलकारको तल्लो स्टेशन बराह क्षेत्रमा र माथिल्लो छिन्ताङमा बनाउन प्रस्ताव गरिएको छ । केबलकार सञ्चालनमा आएपछि बराह क्षेत्रबाट अठाई घण्टामा हिँडेर गुराँशको राजधानी तीन जुरे पुग्न सकिने भएको छ । कम्पनीले ड्रोन लाइडरबाट सर्वेक्षण गर्न लागेको छ ।

केबलकार परियोजना आर्थिक रुपमा आकर्षक देखिएको सीइडी कोइरालाको भनाई छ । संभाव्यता अध्ययनपछि मात्र लागत यकिन हुनेछ । नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर आएको छ । केबलकारमा निजी क्षेत्र र बैंकहरुले अर्बौं रुपैयाँ लगानी गरिरहेका छन् । चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको हो । मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन् ।

अहिलेसम्म पहिचान भएका १६ मध्ये आठ केबुलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माणधीन र केही निर्माणका तयारीमा छन् । सञ्चालनमा आइसकेका, निर्माणाधीन र निर्माणको तयारीको चरणमा रहेका गरी १६ केबलकारमा मात्र हालसम्म एक खर्ब २० अर्ब रुपैयाँ लगानी हुने सम्बद्ध केबलकार कम्पनीहरूले दिएको लगानी तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार