आईएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा, अब खल्ती बाई आइएमई

काठमाडौं । आइएमई पे र खल्ती वालेट मर्ज भई आजबाट ‘खल्ती बाई आइएमई’ नाममा एकीकृत कारोबार शुरु हुँदैछ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए । ब्याज दिने एक मात्र वालेट को रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो । अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्।

साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुन सक्नेछन् । यस प्रक्रियामार्फत आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्नेछन् । आइएमई पे आइएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो। अर्कोतर्फ, चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्ती मा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।

आईएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्णप्रसाद शर्माले आईएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेड ले देशभर वित्तीय पहुँचको नयाँ युग शुरु गर्ने बताए । आइएमई खल्ती लिमिटेड का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार