ललितपुर – रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएपछि रवि उच्च अदालत पुगेका हु्न् ।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी उक्त बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।
पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने पुग्ने जानकारीपछि रास्वपा कार्यकर्ताहरू अदालत बाहिरको मुख्य सडकमा जम्मा भएका थिए । त्यस क्रममा लामिछानेले आफूले बोल्ने समय छिट्टै आउने बताए । उनले आफूले बोलेपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे ।
उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणीसमेत गरेका छन् । लामिछानेले यो देशको भविष्य युवाहरूको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गरे ।