काठमाडौ – दैलेखमा मिथेन ग्यास भेटिएको समाचार भारतीय मिडियामा चर्चा पाएको छ ।
दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै शुक्रबार अधिकांश भारतीय मिडियाले यसबारे चर्चा गर्दै नेपाल अब मालामाल हुने उल्लेख गरेका छन् ।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर फरक–फरक समाचार बनाएका छन् ।
त्यसमध्ये इन्डिया टिभीले ‘नेपाल मालामाल बन्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । इन्डिया टिभीले लेखेको छ, ‘यस्तो खोज भएको छ, जसले ५० वर्षसम्म ग्यासको कमी हुनेछैन ।’
त्यस्तै, नवभारत टाइम्सले ‘चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना फेला पार्यो, ५० वर्षसम्मको आवश्यकता पूरा हुनेछ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । अन्य भारतीय मिडियाले पनि खजाना भेटिएको भन्दै समाचार छापेका छन् ।