तत्कालीन निर्देशक ठाकुरसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा, पौने दुई करोड बिगो

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजहरूविरुद्ध आयोगले एक करोड ७५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम बिगो कायम गरेको छ ।

ठाकुसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का लेखापाल सावित्री गिरी, परिषद्‍का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, परिषद्‍का सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देवी साह, ठेकेदार जितेन्द्र कुमार यादव र ठाकुरकी पत्नी इन्दुलेखा कुमारी ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ सम्म परिषद्‌का कार्यकारी निर्देशक थिए । ठाकुर कार्यकारी निर्देशक रहँदा कोषमा व्यापक भ्रष्टाचार भएको समाचार सार्वजनिक हुने गरेको थियो । सुविधा दुरुपयोग, सरकारी छाप र दस्तखत नै कीर्ते गरी ठगी गरेको लगायत आरोप ठाकुरसहितविरुद्ध लागेको थियो ।

बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले २०७९ भदौ २० गते परिषद्‌मा छापा हानी कागजात नियन्त्रणमा लिएको थियो ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई गत पुस मसान्तमा ललितपुरको भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार