आर्थिक बर्षान्त नजिकिँदै गर्दा सरकारको खर्च पनि उच्च, एकै दिन खर्चियो सवा आठ अर्ब

काठमाडौं । आर्थिक बर्षान्त नजिकिँदै गर्दा सरकारले गर्ने खर्च पनि उच्च हुन सुरु गरेको छ । बिहीबार एकै दिन सरकारले सवा आठ अर्ब रुपियाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बिहीबारसम्मको सरकारी आय–व्यय सम्बन्धी तथ्यांकअनुसार सरकारले आठ अर्ब २८ करोड ३० लाख रुपियाँ खर्च गरेको छ । बुधबारसम्म तीन अर्ब हारहारीमा खर्च गर्दै आएको सरकारले बिहीबार एकै पटक उच्च मात्रामा बजेट खर्च गरेको हो ।

विशेषगरी असार महिनामा हतार हतार ठेक्का लगाएको काम गर्ने विनियोजित रकम खर्च गरेको बिल पठाएर भुक्तानी लिने, त्यस्तो रकम सरकारी सरकारी कर्मचारी, ठेकेदार, नेता, टोले गुण्डाहरु मिलेर लिने प्रवृत्ति पहिलेदेखि चल्दै आएको छ । असार विकास नाम दिइएको यो बेथितिको समयलाई सरकारी कर्मचारी, ठेकेदार, नेता, टोले गुण्डाहरुको ‘दशैं’को रुपमा हेरिन्छ । यही मौकामा ठेकेदारले पनि गुणस्तरहीन काम गरी बिल भपाई बनाउने र सोही कमजोरीमा अन्य पक्षले रकम च्यापेर लिने गर्छन् ।

बिहीबार भएको खर्चमा तीन अर्ब ६९ करोड ८४ लाख रुपियाँ चालु खर्च छ भने ६० करोड ४१ लाख रुपियाँ पुँजीगत र तीन अर्ब ९८ करोड पाँच लाख रुपियाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ । सरकारले बिहीबार उच्च मात्रामा ऋण र अनुदान भुक्तानी गरेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार