काठमाडौं – काठमाडौंको टोखा नगरपालिका-२ झोरस्थित सडकमा गुडिरहेको ना। ७ ख १६५२ नम्बरको ट्रकबाट बरामद भएको सबै रकम अमेरिकी डल र युरो रहेको खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार बरामद सबै रकम युरो र अमेरिकी डलर पाइएका हुन् । उनकाअनुसार बरामद भएको रकम नेपली रुपैयाँमा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन आउँछ ।
उनका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गरेको सूचनाका आधारमा उक्त रकम बरामद भएको हो । प्रहरीले कुसाङको साथबाट दुई थान मोबाइल फोन पनि बरामद भएको जनाएको छ ।
सोमबार मध्यराति ११ बजेको समयमा उक्त मालबाहक ट्रक नियन्त्रणमा लिई खानतलासी गर्दा त्यो रकम बरामद भएको हो । आचार्यकाअनुसार उक्त ट्रकको ‘बोनट’ ड्राइभर बस्ने कोठाको (क्याबिनको बायाँतर्फ) माथिल्लो भागमा फल्स बटम बनाई लुकाएको अमेरीकी डलर, युरो लगायतका मुद्रा फेला परेपछि चालक सिन्धुाल्चोकको भोटेकोशी गाउँपालिका-१ निवासी ४३ वर्षीय कुसाङ लामा पक्राउ परेका हुन् । उक्त ट्रक पनि अपराध अनुसन्धान कार्यालयमा ल्याइएको छ ।