काठमाडौं । सुन जस्ता बहुमूल्य धातु र त्यसका गरगहनाको कारोबारका लागि प्रख्यात मानिने काठमाडौंको न्यूरोडकै व्यापारीले उच्च मात्रामा अनौपचारिक अर्थात् अवैध रुपमा सुन जस्ता बहुमूल्य धातु खरिद गर्ने गरेको देखिएको छ । बैंकले नै सुन आयात गर्न पाउने भएकाले सामान्यत बैंकहरुबाट नै सुन खरिद गर्नूपर्छ । तर, त्यहाँका व्यापारीले बैंक भन्दा पनि बाहिरबाट धेरै मात्रामा सुन जस्ता बहुमूल्य धातु खरिद गर्ने गरेको देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । महालेखाले गरेको २७ करदाताको लेखापरिक्षणको आधारमा यस्तो देखिएको हो । उनीहरुले ९३.६८ प्रतिशत बहुमूल्य धातु बैंकिङ प्रणालीभन्दा बाहिरबाट खरिद गरेका छन् । त्यसमा भन्सार छली भएर आएका सुन समेत हुने जानकारवाहरु बताउँछन् ।
प्रतिवेदनअनुसार उनीहरुले ६.३२ प्रतिशत कारोबार मात्रै वैध प्रणाली अर्थात् बैंकिङ प्रणालीबाट गर्ने गरेका छन् । अन्य कारोबार भने बैैंकिङ प्रणाली भन्दा बाहिरबाट गरेका छन् । त्यसरी खरिद भएको बहुमूल्यको धातुको वैधानिक स्रोत तथा खर्च सम्बन्धमा छानबिन गरी कर निर्धारण गर्नुपर्ने महालेखाको भनाइ छ ।