नेप्सेको चार्टमा आज ‘मर्निङस्टार प्याटर्न’, बजार अब कतातिर जाला ?

काठमाण्डौ । नेप्सेको चार्टमा आज ‘मर्निङस्टार प्याटर्न’ बनेको छ । लगातार ६ दिन घटेको बजारमा अघिल्लो कारोबारमा इन्भर्टेड ह्याम्मर बनेको थियो । त्यसपछि आजको कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्ड अर्थात २६४० विन्दुमा प्रतिरोध सामना गरेको छ । यदि आगामी कारोबारमा बजारले २६४५ विन्दुभन्दा माथि टिकेर कारोबार भएको खण्डमा माथिको यात्रा तय गर्न सक्ने छ । आरएसआई पनि ओभर सोल्ड जोनबाट फर्केर हाल ४४ को तहमा पुगेको छ ।

कारोबार तथा भोल्युमबाट नियाल्दा भने बजारले २० दिने मूभिङ एभरेज भन्दा तल अर्थात औषत कारोबार ९ अर्ब भन्दा तल नै आएको देखिन्छ । यस हिसाबले कारोबार तथा भोल्युमबाट नियाल्दा बजार अझै माथिको यात्राको लागि परिपक्व भएको देखिदैन । यद्यपी क्याण्डल स्टिकबाट भने बजारले सम्हालिने प्रयास गरेको देखिन्छ ।

नेप्सेको चार्टमा ‘मर्निङस्टार’ (Morning Star) देखिनु प्राविधिक विश्लेषणमा एक सकारात्मक सङ्केत मानिन्छ। यो सामान्यतया बजार घट्दो क्रम (downtrend) मा हुँदा देखिन्छ र यसले बजारले अब माथिल्लो दिशा (uptrend) लिनसक्ने सम्भावनालाई इङ्गित गर्छ।

मर्निङस्टार प्याटर्न के हाे ?

यो तीनवटा क्यान्डलस्टिक (candlestick) मिलेर बन्छ:

  1. पहिलो दिन: एउटा लामो रातो (बियरिश) क्यान्डल, जसले बजारमा बिक्री चाप उच्च रहेको देखाउँछ।

  2. दोस्रो दिन: एउटा सानो शरीर भएको क्यान्डल (जुन रातो वा हरियो हुन सक्छ)। यो क्यान्डल पहिलो दिनको क्यान्डलभन्दा तल ‘ग्याप डाउन’ गरेर खुल्छ र बन्द पनि सानो रेन्जमा हुन्छ। यसले बजारमा अनिश्चितता र क्रेता-विक्रेताबीचको सन्तुलनको अवस्था देखाउँछ।

  3. तेस्रो दिन: एउटा लामो हरियो (बुलिश) क्यान्डल, जसले बजारमा खरिद चाप बढेको देखाउँछ। यो क्यान्डल दोस्रो दिनको क्यान्डलभन्दा माथि ‘ग्याप अप’ गरेर खुल्छ र पहिलो दिनको रातो क्यान्डलको आधाभन्दा माथि गएर बन्द हुन्छ।

यसले बजारमा के सङ्केत गर्छ?

  • बिक्री चापमा कमी: पहिलो दिनको बिक्री चाप दोस्रो दिनमा कमजोर हुँदै जान्छ।

  • खरिद चापमा वृद्धि: तेस्रो दिनमा खरिदकर्ताहरू हावी हुन्छन् र बजारलाई माथि लैजान्छन्।

  • सम्भावित ट्रेन्ड रिभर्सल (Trend Reversal): यसले घटिरहेको बजार अब माथि जानसक्ने बलियो सम्भावना देखाउँछ।

प्रतिक्रिया
सम्बन्धित समाचार