सुस्ताउँदै गएको घरजग्गा कारोबारमा चमक ! एक महिनामै ५२ हजार बढी लिखत पारित

उपत्यकामा भक्तपुर अगाडि

काठमाडौँ। सुस्ताउँदै गएको घरजग्गा कारोबारमा चमक देखिएको छ । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै ५२ हजार ४२३ वटा लिखत पारित भएको छ। यो आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएकाे हो ।

गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यो ५.३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०्/८१ को वैशाखमा ४९ हजार ७८३ लिखत पारित भएको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा मात्रै लिखत पारित भएको थियो ।

साथै, भदौ महिनामा ३२ हजार ७९८ घरजग्गाको कारोबार हुँदा असोजमा ३० हजार ५२७ वटा कारोबार भएको थियो । त्यस्तै, कात्तिकमा ३३ हजार ५१४, मंसिरमा ४३ हजार ३७९, पुसमा ४८ हजार १५६, माघमा ४६ हजार ६९, फागुनमा ४६ हजार ६१ र चैतमा ४९ हजार ८३२ वटा लिखत पास भएको तथ्यांमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८०र८१ को वैशाखमा ४९ हजार ७८३ र आर्थिक वर्ष २०७९/८० को वैशाखमा ४२ हजार ४६१ लिखत पारित भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको वैशाखमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोतबाटै भएको छ । इनरुवा मालपोतले यस अवधिमा २ हजार ३५ वटा लिखत पारित गरेको छ ।

त्यस्तै, जनकपुरले १ हजार ७६०, भद्रपुरले १७ हजार ११, बेलबारीले १ हजार ७०१, राजविराजले १ हजार ५१६, धनगढीले १ हजार ३३६ र मलंगवाले १ हजार १८३ लिखत पारित गरेका छन् । यता, सिरहाले १ हजार १६९, तुलसीपुरले १ हजार ७७, कलैयाले १ हजार २४ र कोहलपुरले १ हजार १९ वटा लिखत पारित गरेको भूमि व्यवस्थापन अभिलेखमा उल्लेख छ ।

अघिल्लो महिना चैतमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक बढी १ हजार ८९६ लिखत पारित भएको थियो भने झापाको भद्रपुरबाट १ हजार ८०४, बेलबारी मालपोतबाट १ हजार ७१४, जनकपुरधामबाट १ हजार ५३८ र सप्तरीको राजविराज मालपोतबाट १ हजार ४०९ लिखत पारित भएको थियो ।

यता, काठमाडौँ उपत्यकाभित्र भने वैशाखमा समेत भक्तपुर मालपोत नै सर्वाधिक घरजग्गा किनबेच गराउनेमा देखिएको छ। भक्तपुरले यस अवधिमा ८८४, लगनखेलले ८६१, कलंकीले ६७२, चाबहिलले ४८४, साँखुले ४३७, मनमैजुले २६२, डिल्लीबजारले २०२ र टोखाले १७० लिखत पारित गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार