काठमाडौं । वैदेशिक रोजगारमा गएका कामदारको हित निम्ति संकलित दुई कोषका रकम सरकारी अधिकारी र म्यानपावर व्यवसायीहरुको विदेश सयर र मस्तीमा भएको पाइएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयअन्तर्गत ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ र वैदेशिक रोजगार विभाग मातहतको ‘वैदेशिक रोजगार व्यवसाय कोष’ को रकम व्यापक दुरुपयोग भएको पाइएकाे हो ।
बोर्ड र विभाग दुवै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका निकाय हुन् । दुवै कोषका रकममध्ये पाँच करोड नौहजार रुपैयाँ दुरुपयोग भएको देखिएको छ । उक्त रकम एकै वर्ष आर्थिक वर्ष २०८०/८१ मा दुरुपयोग भएका हुन् । वैदेशिक रोजगार कल्याणकारी कोषको ३३ लाख १६ हजार रुपैयाँ युनाईटेड अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित नेपाली दूतावासलाई दिइएको छ ।
दूतावासले उक्त रकम वैदेशिक रोजगार मेला व्यवस्थापन र वैदेशिक रोजगार व्यवसायी तथा सङ्घ–सङ्गठनका प्रतिनिधिहरूको भ्रमणमा खर्च गरेका हुन् । त्यतिमात्र होइन, वैदेशिक रोजगार कल्याणकारी कोषबाट रोजगार मेलामा सहभागी पदाधिकारीरकर्मचारीको भ्रमण खर्चमा थप १८ लाख २७ हजार रुपैयाँ खर्च गरिएको छ ।
वैदेशिक रोजगार कल्याणकारी कोषकै ७९ लाख ४० हजार रुपैयाँबाट दुई थान विद्युतीय कार खरिद पनि खरिद गरिएका छन् । विदेशस्थित तीन वटा नेपाली दूतावासको सवारीसाधन मर्मतमा समेत कोषको २३ लाख ९८ हजार रुपैयाँ खर्च भएको देखिन्छ । विदेशस्थित नेपाली नियोगमा कर्मचारी नियुक्त गर्ने सिलसिलामा कोषको २ करोड ५७ लाख २८ हजार खर्च भएको देखिएको छ ।