३ अर्बकाे भ्रष्टाचारमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मु्द्दा दायर

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाविरुद्ध मुद्दा दायर

काठमाडौ – पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद् अख्तियारमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

अख्तियारले बस्नेत र झासहितका १६ व्यक्ति र कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायत १६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

अख्तियारले पूर्वमन्त्री बस्नेत, प्राधिकरणका तत्कालीन अध्यक्ष झा र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्रविरुद्ध एउटै बिगो कायम गरेर मुद्दा चलाएको हो ।

यस्तै प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य र उपनिर्देशक सन्दिप अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारबाट भेन्डर कम्पनी भ्यानराइज सोल्युसन्स् एसएएल (अफ्सोर) र त्यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमल अनीटी, एसएएलको स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिङ्क प्रालि र त्यसका अध्यक्ष दीलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेजविरुद्ध पनि मुद्दा दायर भएको छ। अख्तियारले तत्कालीन सञ्चारमन्त्री बस्नेतमाथि टेरामक्स खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणलाई हानीनोक्सानी गराउने पृष्ठभूमि तयार गरेको अभियोग लगाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार