काठमाडौं– विदेशी विनिमय सञ्चिति नेपालमा २६ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेकोमा १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।