सेयर बजार एक महिनादेखि किन २६ सय विन्दुमै रुमल्लिरहेकाे छ ?

बिन्दु माथि जान बजारलाई बलियो सकारात्मक संकेत आवश्यक

काठमाडाैँ । नेप्से सूचक (Nepal Stock Exchange Index) विगत एक महिनादेखि २६०० विन्दु (अंक) वरिपरि स्थिर रहेकाे देखिन्छ । चैत २६ गते २६६६.६१ विन्दुमा रहेको सेयर बजार वैशाख २६ मा २६६१.६४ विन्दुमा राेकिएकाे छ । यसबीचमा नेप्से परिसूचक ४.९७ अंकले घटेको छ । यो अवधिभर परिसूचक २६ सयदेखि २७ सय विन्दुको बीचमै रुमल्लिरहेकाे देखिन्छ । त्यसअघि चैत ७ मा २७०६.०४ र चैत ६ मा २७२२.७३ विन्दुमा पुगेको थियो । यसबीचका हरेक दिन २६ सयदेखि २७ सय विन्दुकै पेरिफेरिमा सेयर बजार स्थिरजस्तै देखियो । सेयर बजारले थप लय पकड्न सकिरहेकाे देखिँदैन ।

काराेबारका हिसाबमा पनि गत चैत २६ मा ४४ खर्ब २७ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ कुल सेयर बजार पुँजीकरण रहेकोमा वैशाख २६ मा ४४ खर्ब २७ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ रहेको छ । महाप्रसाद अधिकारीले अवकाश लिएसँगै गत चैत २४ गतेदेखि राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । अहिले लगानीकर्ता राष्ट्र बैंकको नेतृत्वमा भएको खिचातानी र रिक्तताका कारण सेयर बजारमा कारोबारका लागि पर्ख र हेरको अवस्थामा रहेका छन् । यहीकारण बजार थप अगाडि बढ्न नसकेको सेयर बजारका लगानीकर्ता तथा जानकार बताउँछन् ।

माग र आपूर्तिको सन्तुलनले गर्दा नेप्से सूचक स्थिर रहेकाे हुन सक्ने सेयर बजारका जानकारहरू बताउँदछन्। किन्ने र बेच्ने पक्ष लगभग बराबरीमा हुँदा सूचकमा धेरै उतारचढाव हुँदैन। २६०० विन्दु बजारको प्रतिरोधको बिन्दु (resistance level) बन्न सक्ने सम्भावना छ। यस बिन्दु माथि जान बजारलाई बलियो सकारात्मक संकेत आवश्यक पर्छ। बजेट, ब्याजदर, सरकारी नीति, वा अन्य आन्तरिक राजनीतिक कारणले लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुन सक्छन्। बैंकहरूले दिने ब्याजदर घटबढले पनि शेयर बजारमा लगानीकर्ताको मनोबलमा प्रभाव पार्छ। यदि ब्याजदर उच्च छ भने लगानीकर्ताहरू बैंकमा पैसा राख्न बढी आकर्षित हुन्छन्, बजार सुस्त हुन्छ। धेरै कम्पनीहरूले लाभांश घोषणा गर्ने समय नजिकिँदा वा पछि बजारमा सामान्य संज्ञापन देखिन्छ। यदि बजारले २६०० बिन्दु पार गर्न सकेन भने यो प्रतिरोध बनेर दीर्घकालीन प्रभाव पार्न सक्छ। तर यदि यो बिन्दु पार गरेर माथि जान थाल्यो भने लगानीकर्तामा नयाँ उत्साह आउने सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार