सैनिक कल्याणकारी कोषको झण्डै साँढे दुई करोड रकम हिनामिना

दुईजना उच्च सैनिक अधिकृतमाथि अनुसन्धान सुरु

काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार ५१८ रुपैयाँ हिनामिना गरेको आरोपमा बहावाला दुईजना उच्च सैनिक अधिकृतमाथि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाले बहालवाला सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

सोही हिनामिनामा संलग्न दुईजना अवकाशप्राप्त सैनिकलाई भने नेपाली सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीको जिम्मा लगाइएका दुई सैनिकमा अवकाशप्राप्त जमदार आत्मराम थापा र अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी छन् ।

नेपाली प्रहरीले आवश्यक छानबिन गरी थापा र अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार ‘आपराधिक विश्वासघात’ मुद्दा दर्ता गरेको छ । दायर गरिएको मुद्दामा थापा र अधिकारीविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो कायम गरिएको छ । उक्त रकम ०७३ फागुन ९ गतेदेखि ०७५ असोज १७ गतेसम्मको अवधिमा हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार