काठमाण्डु – मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बिहीबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनुका साथै केही नियुक्ति, बढुवा लगायतका निर्णय हुनेछ । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना पनि छ।
गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बारे सरकारको आलोचना भइरहेको छ । सरकारले टुंगो नलगाउँदा राष्ट्र बैंक गत चैत २५ गतेदेखि गभर्नरविहीन छ । अहिले कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानाले निर्वाह गरिरहेकी छिन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गर्भनर बनाउन सिफारिस गरेका थिए ।
भट्टको नाममा सत्ताका प्रमुख घटक कांग्रेस र नेकपा (एमाले)बीच सहमति पनि भएको छ । गर्भनर बन्ने भएपछि भट्टले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।