उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रीताविरुद्ध बाल मन्दिरकाे जग्गा लिज प्रकरणको मुद्दा अदालतमा दर्ता

काठमाण्डु – उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्य जोडिएको बाल मन्दिरकी जग्गा लिज प्रकरणको मुद्दा काठमाण्डु जिल्ला अदालतमा दर्ता भएको छ । काठमाण्डुको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले बुधबार जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ । फाइल प्राप्त भएसँगै अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए । जिल्लाले मुद्दा चलाउनु नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा राय पठाएकोमा अनुसन्धानपछि मुद्दा चलाउनुपर्ने देखिएकाले ठगी मुद्दा चलाइएको उनले बताए ।

कार्यालयले उपप्रधानमन्त्री सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी , मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईं, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई विपक्षी बनाएको छ ।

उनीहरूविरुद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा मुद्दा चलाइएको छ । आरोप प्रमाणित भएमा उनीहरूलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार