नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकको समस्याहरु समाधान गर्छु – प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन्।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए।

उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। अध्यक्ष दाहालले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे।

‘फेरि यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ। तपाईँहरू कन्फ्युजनमा नपर्नु होला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनु होला। हामी आन्दोलनमार्फत फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर अग्रसर छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार