काठमाडौं । प्राकृतिक विपद्का बेला खोज तथा उद्धार अभियानमा उत्कृष्ट भूमिका निर्वाह गरेको प्रहरी कुकुर ‘ली’ यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषित भएको छ। नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन कार्यालयले ल्याबराडोर रिट्रिभर जातको भाले कुकुर लीलाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो।
आइतबार कुकुर तिहारको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रहरी प्रधान कार्यालयका डीआईजी ओम रानाले लीलाई अवार्ड प्रदान गरेका थिए।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नुवाकोटमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानमा लीलाई परिचालन गरिएको थियो। उक्त अभियानमा प्रहरीले दुईवटा ल्याबराडोर कुकुर प्रयोग गरेको थियो।
खोज तथा उद्धारका क्रममा लीले शव र शवका अवशेष पत्ता लगाउन महत्वपूर्ण सहयोग पुर्याएको केनाइन कार्यालयका प्रमुख एसपी डा. रामचन्द्र सत्यालले जानकारी दिए। विपद्का बेला कठिन परिस्थितिमा समेत उत्कृष्ट कार्यक्षमता देखाएकाले लीलाई यस वर्षको उत्कृष्ट कुकुरका रूपमा छनोट गरिएको हो।
भोटेकोशी विपद्पछि प्रहरीले खोज तथा उद्धार कार्यका लागि लीसहित चारवटा तालिमप्राप्त कुकुर परिचालन गरेको थियो। विपद्बाट बढी प्रभावित रसुवा जिल्लामा भने जर्मन शेफर्ड र बेल्जियन शेफर्ड जातका दुईवटा कुकुर प्रयोग गरिएको थियो।
रसुवाको टिमुरे क्षेत्रमा समेत कुकुरको सहयोगमा प्रहरीले शव खोजी तथा संकलन गरेको थियो। प्राकृतिक विपद्का बेला मानिसको पहुँच कठिन हुने स्थानमा समेत तालिमप्राप्त कुकुरले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।