वासिङटन डीसी, २२ कात्तिक। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमसम्बन्धी जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार र अन्यत्र बसाइँ सर्का लागि सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको छ।
यसमा इरानका आणविक केन्द्रहरू, उपकरणहरू, वैज्ञानिक जनशक्ति तथा आणविक गतिविधिहरूसँग सम्बन्धित सामग्रीहरूको ओसारपसारबारेको जानकारी समावेश छ।
युनाइटेड स्टेट्स सेन्ट्रल कमान्ड ले पनि ‘एक्स’ मार्फत यस पुरस्कारसम्बन्धी जानकारी साझा गरेकाे छ । यो प्रस्ताव अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमको एक हिस्सा हो, जसले इरानको आणविक पूर्वाधार र त्यससँग जोडिएका व्यक्तिहरूबारे जानकारी खोजिरहेको छ।
आधिकारिक ‘रिवार्ड्स फर जस्टिस’ वेबसाइटका अनुसार इरानको आणविक कार्यक्रमसम्बन्धी जानकारी उपलब्ध गराउनेलाई यो पुरस्कार प्रदान गरिनेछ। यसमा आणविक संरचनाहरू, उपकरणहरू र सम्बन्धित जनशक्ति विशेष गरी वैज्ञानिक समुदायका व्यक्तिहरू तथा यी स्रोतहरूको ओसारपसारसम्बन्धी विवरणहरू समावेश छन्।
‘रिवार्ड्स फर जस्टिस’को सूचनामा सन् २०२५ को अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको प्रतिवेदनलाई उद्धृत गरिएको छ। उक्त प्रतिवेदनअनुसार इरानले युरेनियमलाई ६० प्रतिशत शुद्धताको स्तरसम्म संवर्द्धन गरेको छ, जसले यसलाई हतियार निर्माणमा प्रयोग हुने स्तरको युरेनियम (जुन सामान्यतया करिब ९० प्रतिशतसम्म संवर्द्धन गरिन्छ) को निकै नजिक पुर्याएको छ। यसमा उल्लेख गरिएअनुसार इरान यस्तो एकमात्र मुलुक हो, जससँग आणविक हतियार छैन, तर पनि उसले युरेनियमलाई यति उच्च स्तरसम्म संवर्द्धन गरिरहेको छ।
यसमा अगाडि भनिएको छ कि विज्ञहरूको अनुमानअनुसार यदि हाल मौज्दात रहेको संवर्धित युरेनियमलाई अझ उच्च स्तरसम्म संवर्धित गरियो भने त्यो धेरै आणविक हतियार उत्पादन गर्न पर्याप्त हुन सक्छ। अमेरिकी सूचनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी प्रति इरानले आफ्नो सुरक्षसम्बन्धी दायित्वहरूको पालना गर्ने विषयमा पनि चिन्ता व्यक्त गरिएको छ।
‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमका अनुसार इरानले नियमहरूको पालना नगरेका कारण सेन्ट्रिफ्युज लगायतका देशका प्रमुख आणविक सामग्रीहरूको उत्पादन र भण्डारबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग अहिले जानकारीको अभाव छ। सेन्ट्रिफ्युजहरू युरेनियमलाई समृद्ध बनाउन प्रयोग गरिन्छन् र यी इरानको आणविक कार्यक्रमका अति महत्त्वपूर्ण हिस्सा हुन्।
यो पुरस्कार प्रस्तावले विशेष गरी आणविक सुविधाहरू, उपकरणहरू, जनशक्ति र सम्बन्धित गतिविधिहरूको पहिचान गर्न मद्दत पुर्याउन सक्ने जानकारीको खोजी गर्छ। ‘रिवार्ड्स फर जस्टिस’ ले यस्तो जानकारी भएका व्यक्तिहरूले उनीहरूको आधिकारिक रिपोर्टिङ प्रणालीमार्फत जानकारी उपलब्ध गराउन सक्ने बताएको छ। साथै, यो कार्यक्रमले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई अन्यत्र पुनर्स्थापित हुने विकल्प पनि प्रदान गर्दछ।