काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ ।
गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार अहिले अधिकांश ड्राइफ्रुट्सको मूल्य गत वर्षको तुलनामा बढेको छ । वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य बढेको उनले बताए । केही वस्तुको मूल्यमा भने अझ बढी वृद्धि भएको छ ।
कालिमाटीमा १५ वर्षदेखि व्यवसाय गर्दै आएका चौधरीले गत भदौमा रसुवामा आएको विनासकारी बाढी, दशैंका कारण भन्सार कार्यालय बन्द हुनु र त्यसपछि तिहारको माग बढ्नुले बजारमा आपूर्ति प्रभावित भएको बताए । दशैंको समयमा करिब एक साता भन्सार कार्यालय बन्द हुँदा आयात रोकिएको र खुलेलगत्तै तिहार लक्षित सामानको माग बढेकाले पर्याप्त सामान बजारमा आउन नसकेको उनको भनाइ छ ।