काठमाडौं । नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ । बोर्डको केन्द्रीय कार्यालयले सोमबार सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई आगामी मङ्सिर २१ गतेभित्र दरखास्त बुझाउन आग्रह गरेको हो ।
नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली नागरिकलाई नै चालकका रूपमा सूचीकृत गरी परिचालन गर्ने उद्देश्यले आवेदन खुलाइएको बोर्डले जनाएको छ । यसका लागि दक्ष, योग्य, इमानदार र जिम्मेवार चालक आवश्यक रहेको सूचनामा उल्लेख छ ।
आवेदन दिन इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित बोर्डको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । दरखास्तसँगै नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
त्यसैगरी मान्यताप्राप्त संस्थाबाट प्राप्त रेल चालकको अनुमतिपत्र (लाइसेन्स), कार्यअनुभव तथा तालिमसम्बन्धी प्रमाणपत्रसमेत संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ ।
