अनधिकृत पत्रबाट पक्राउ परेका रेशम चौधरी चार घण्टापछि रिहा भए

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट पक्राउ परेका चौधरी बुधबार साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

सर्वोच्चले आधिकारिक पत्रमार्फत यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न भनेको थियो ।

चौधरी बुधबार दिउँसो प्रज्ञाभवनबाट पक्राउ परेका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनी एकाएक पक्राउ परेका थिए ।

प्रहरीले सुरुमा सर्वोच्च अदालतको पत्रका आधारमा पक्राउ गरेको बताएको थियो । तर, पछि पत्र नै अनधिकृत रहेको खुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार