काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपियाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांशको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य संकुचन देखिएको छ । पहिलो त्रैमासमा १० वटा बैंकले १ अर्ब रुपियाँभन्दा बढी खुद नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ ।
नबिल बैंकले चालु आवको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड रुपियाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७५ करोड रुपियाँ थियो । त्यस्तै, ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड रुपियाँ नाफासहित दोस्रो स्थानमा रहेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको थियो।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ६४ करोड रुपियाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा ५८ करोड रुपियाँ मात्रै थियो।
नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य सात बैंकले पनि पहिलो त्रैमासमा १ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेका छन् । एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपियाँ खुद नाफा कमाउँदा प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपियाँ नाफा आर्जन गरेका छन्। यसैगरी, एनएमबी बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपियाँ खुद नाफा कमाएका छन्।