वाणिज्य बैंकमा निक्षेप बढ्ने क्रम तीव्र, असोजमा १ खर्ब ७८ अर्बको वृद्धि

रेमिट्यान्स पनि उच्च

काठमाडौं । चालु आर्थिक बर्ष २०८३–८४ को असोज महिनामा मात्रै वाणिज्य बैंकहरुमा एक खर्ब ७७ अर्ब ९२ करोड रूपियाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले तयार गरेको असोज महिनाको कर्जा निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा २० वाणिज्य बैंक छन् । गत भदौसम्म वाणिज्य बैंकहरूमा ७५ खर्ब ७३ अर्ब ३६ करोड रूपियाँ निक्षेप थियो । असोज मसान्तसम्म आउँदा त्यो बढेर ७७ खर्ब ५१ अर्ब २८ करोड रूपियाँ पुगेको छ ।

तथ्याङ्कअनुसार असोजको १ देखि २ गतेसम्ममा १० अर्ब २५ करोड रूपियाँले निक्षेप बढेको छ । यसैगरी असोज ३ देखि ९ गतेसम्ममा ११ अर्ब ३६ करोड रूपियाँ, असोज १० देखि १६ गतेसम्ममा ५० अर्ब ९० करोड रूपियाँ र असोज १७ देखि २३ गतेसम्ममा ६६ अर्ब ४४ करोड रूपियाँले निक्षेप बढेको छ । असोज अन्तिम साता अर्थात् असोज २४ देखि ३१ गतेसम्ममा भने ३८ अर्ब ९७ करोड रूपियाँले निक्षेप बढेको छ ।

मूख्यतः दशैंका अघि हुने वित्तीय कारोबारले निक्षेप बढाएको देखिन्छ । यो बेलामा रेमिट्यान्स पनि उच्च आउने गर्छ । दशैं खर्च भन्दै विदेशमा भएका नेपालीले यो बेला अघि पछि भन्दा धेरै रेमिट्यान्स पठाउँछन् । सरकारले पनि आफ्ना कर्मचारीलाई दशैं बोनस सहित तलब दिएको थियो । कतिपय निकायका सरकारी कर्मचारीले चालु आवको सुरुदेखि नै तलब पाएका थिएनन् । उनीहरुलाई असोजमा एकै पटक तीन महिनाको तलब र बोनस समेत भुक्तानी गरिएको थियो । सरकारले आफ्नो नियमित भुक्तानी पनि गरेको थियो । त्यसले गर्दा असोजमा निक्षेप उच्च दरमा बढेको बताइएको छ ।

असोजमा साप्ताहिक रुपमा हेर्दा पनि निक्षेप उच्च दरमा बढेको छ । अन्तिम साता दशैंका लागि भन्दै आम मानिसले नगद पनि बैंकबाट निकालेका थिए । त्यसका बाबजुद पनि निक्षेप बढेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार