काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) र अमेरिकी सेनाले आगामी हप्ताहरूमा इरानमाथि पुनः संयुक्त हवाई आक्रमण गर्ने विस्तृत योजना तयार पारेको दुई इजरायली स्रोतलाई उद्धृत गर्दै एबीसी न्युजले जनाएको छ ।
इजरायली स्रोतहरूका अनुसार अमेरिकी मध्यावधि निर्वाचनपछि मात्र आक्रमण हुने सम्भावना छ । चुनावी अभियानका अन्तिम दिनमा कच्चा तेलको बजारलाई थप अस्थिर बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनिच्छुक रहेकाले उक्त समय छनोट गरिएको उनीहरूको भनाइ छ । ह्वाइट हाउसले पनि बिहीबार नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने स्पष्ट पारेको छ ।
यसैबीच, एक इजरायली स्रोतले भने, “निर्वाचन सकिनेबित्तिकै ‘सिकारको मौसम’ सुरु हुनेछ र उनीहरूले धेरै समय पर्खने छैनन् भन्ने स्पष्ट छ ।”
‘द न्युयोर्क टाइम्स’ ले यस सैन्य योजनाबारे पहिलोपटक समाचार सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनबारे सोधिएको प्रश्नमा ह्वाइट हाउसका एक अधिकारीले प्रशासनले अस्तित्वमा हुन सक्ने वा नहुन सक्ने संवेदनशील सैन्य योजनाबारे कुनै टिप्पणी नगर्ने बताएका छन् । ती अधिकारीका अनुसार इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न ट्रम्पले सबै विकल्प खुला राखेका छन् । पेन्टागनले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानविरुद्ध पुनः सैन्य कारबाही गर्ने पक्षमा दृढ रहेको बताइएको छ । तर, दुवै इजरायली स्रोतका अनुसार संयुक्त आक्रमण पुनः सुरु गर्ने अन्तिम निर्णय भने ट्रम्पले नै गर्नेछन् ।