शपथ ग्रहणमा बालेनकै शैली पछ्याए सभापति गगनले

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा उनले केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काबाट शपथ लिएका हुन् ।

शपथ ग्रहणअघि वटुकहरूले स्वस्ति वाचन गरेका थिए । स्वस्ति वाचनपछि शपथ लिएका थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरूले माला लगाएर बधाई तथा शुभकामना दिएका थिए । यसअघि प्रधानमन्त्री बालेन शाहले पनि चैत १३ गते प्रधानमन्त्रीको सपथ खाने बेलामा हिन्दु र बौद्ध विधिबाट मन्त्रोच्चारण गरेर सपथ खाएका थिए । सोही शैलीलाई गगनले पनि पछ्याएका हुन् ।

हालै राजधानीमा सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट थापा भारी मतका साथ सभापतिमा निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय कार्यालयले समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई निमन्त्रणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार