काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत कम्पनीको सेयर मूल्य घटेर सस्तो हुँदा पनि लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन । सूचीकृत ४८ वटाको सेयर मूल्य ३०० रुपैयाँभन्दा कममा झरेको छ । सस्तो मूल्यमा सेयर किन्न पाइने अवसर हुँदासमेत बजारमा माग बढ्न नसक्नुले लगानीकर्ताको कमजोर मनोबल र बजारप्रतिको घट्दो विश्वासलाई संकेत गरेको छ ।
सूचीकृत कम्पनीहरुमध्ये करिब १७ प्रतिशतको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम छ । असोज २३ गतेको अन्तिम कारोबार मूल्यका आधारमा २८० कम्पनीमध्ये ४८ कम्पनीको सेयर मूल्य ३०० रुपैयाँभन्दा तल रहेको छ । तीमध्ये अधिकांश जलविद्युत् कम्पनी छन् । बैंकिङ क्षेत्रका कम्पनीको संख्या पनि उल्लेख्य छ ।
३०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका कम्पनीमध्ये ३० वटा जलविद्युत् क्षेत्रका छन् । त्यस्तै, लगानी समूहका दुई, अन्य समूहको एउटा, बैंकको ११, वित्त कम्पनीको एउटा र जीवन बिमाको एउटा कम्पनी छ । उत्पादन तथा प्रशोधन समूहको नेपाल ल्युब आयलको सेयर मूल्य पनि ३०० रुपैयाँभन्दा कम छ । यसबाहेक एचआईडीसीएलको संस्थापक सेयर पनि सोही मूल्य सीमाभित्र कारोबार भइरहेको छ ।
यी कम्पनीमध्ये आठवटाले मात्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । केही कम्पनीको बुक क्लोज भइसकेको छ भने केहीको हुन बाँकी छ ।