कांग्रेसको महाविधेशन एक करोड ६३ लाखमै सम्पन्न, चुनावमा तीन करोड खर्च

काठमाडौँ – कांग्रेसको गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनमा एक करोड ६४ लाख खर्च भएको छ। जारी १५औँ महाधिवेशनमा कोषाअध्यक्ष उमेश श्रेष्ठले पेश गरेर बन्दसत्रले पारित गरेको प्रतिवेदनअनुसार गत पुसमा भएको विशेष महाधिवेशनमा एक करोड ६४ लाख खर्च भएको हो।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको महाधिवेशनको पक्ष(विपक्षमा कांग्रेस अझै विभाजित छ। तत्कालनी सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन आयोजना नै त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन विचाराधीन अवस्थामा छ।

पुस २७ देखि ३० गतेसम्म आयोजना भएको महाधिवेशनमा झण्डै दुई हजार सात सय प्रतिनिधिहरुलाई खान बस्नको व्यवस्था पार्टीले गरेको थियो। त्यसमा जम्मा एक करोड ६४ लाख ५९१ रुपैयाँ खर्च भएको रिपोर्ट कोषाअध्यक्षले दिएका हुन्।

त्यस्तैगरी गत फागुनमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा पार्टीले २ करोड ९६ लाख ५१ हजार ४०६ रुपैयाँ खर्च गरेको जनाइएको छ। अघिल्लो आर्थिक वर्ष २०८२-८३ मा पार्टी कार्यालय सञ्चालन गर्न एक करोड ७७ लाख ६४ हजार ४३३ रुपैयाँ खर्च भएको छ।

आर्थिक वर्ष २०८२-८३ मा पार्टीले सदस्यता, लेवी तथा नवीकरण शुल्कबापत ५५ लाख ७७ हजार ९२१ रुपैयाँ, चन्दा तथा सहयोगबापत १ करोड ५३ लाख ९२ हजार रुपैयाँ र अन्य स्रोतबाट ३६ लाख २० हजार ४३८ रुपैयाँ आम्दानी गरेको दाबी श्रेष्ठले गरेका छन्।

त्यसैगरी, चालू आर्थिक वर्ष २०८३-८४ को असोज १५ गतेसम्म सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट ४ करोड ९६ लाख ९ हजार २१० रुपैयाँ र अन्य आयबाट १ करोड ५४ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा कार्यालय सञ्चालन खर्च ९ लाख २० हजार ९५४ रुपैयाँ भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार