एटिक रेस्टुरेन्टमा अक्टोबर १३ मा ‘Shabdakiri RAW Sessions Volume II’ आयोजना हुँदै

काठमाडौं । एटिक रेस्टुरेन्ट एन्ड बार र शब्दकिरीको सहकार्यमा दोस्रो संस्करणको ‘शब्दकिरी रअ सेसन्स’ (Shabdakiri RAW Sessions Volume II) आयोजना हुने भएको छ । आगामी मंगलबार, अक्टोबर १३ (२७ असोज २०८३) मा काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट एन्ड बारमा कार्यक्रम आयोजना हुन लागेको हो । साँझ ६ः३० बजेदेखि सुरु हुने कार्यक्रममा मौलिक कविता, अनप्लग्ड संगीत र आत्मीय संवादमार्फत सिर्जनात्मक अभिव्यक्तिलाई प्रस्तुत गरिनेछ ।

‘५ आवाज, ५ ध्वनि र एउटा आत्मीय साँझ’ भन्ने अवधारणामा आधारित कार्यक्रममा फरक सिर्जनात्मक पृष्ठभूमि र प्रस्तुति शैली भएका पाँच जना प्रस्तुतकर्ताले सहभागिता जनाउनेछन् । उनीहरूले आफ्ना मौलिक कविता, संगीत, भावना तथा जीवनका वास्तविक अनुभूतिलाई दर्शकमाझ प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

परम्परागत तथा औपचारिक मञ्चीय कार्यक्रमभन्दा फरक शैलीमा आयोजना गर्न लागिएको यस सेसन्समा भव्य प्राविधिक सजावट, चर्को प्रकाश र कलाकार तथा दर्शकबीचको दूरीभन्दा शब्द, स्वर, कथा र प्रत्यक्ष मानवीय अनुभूतिलाई प्राथमिकता दिइनेछ । कार्यक्रमले कलाकार र दर्शकबीच सहज तथा आत्मीय सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ ।

एटिक रेस्टुरेन्ट एन्ड बार र शब्दकिरीका अनुसार ‘शब्दकिरी रअ सेसन्स’ एउटा कविता वा संगीत कार्यक्रम मात्र नभई कवि, संगीतकर्मी, कथावाचक र श्रोताबीच प्रत्यक्ष भावनात्मक सम्बन्ध निर्माण गर्ने सिर्जनात्मक अभियानको सुरुआतसमेत हो । मौलिक सिर्जना र प्रत्यक्ष प्रस्तुतिमार्फत दर्शकलाई फरक सांगीतिक तथा साहित्यिक अनुभव प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

तीन श्रेणीमा टिकट उपलब्ध

कार्यक्रममा सहभागी हुनका लागि आयोजकले तीन श्रेणीका टिकट व्यवस्था गरेका छन् । पाँच सय रुपैयाँको टिकटमा एक जनालाई प्रवेश र एउटा V60 कफी, एक हजार रुपैयाँको टिकटमा प्रवेशसँगै ३३० मिलिलिटर बियर तथा १ हजार ५०० रुपैयाँको टिकटमा प्रवेशसँगै एक पेग Shlok ह्विस्की उपलब्ध हुने आयोजकले जनाएको छ ।

त्यस्तै, सुरुआती टिकट खरिदकर्ताका लागि सीमित संख्यामा अर्ली बर्ड छुटको व्यवस्था गरिएको छ । सबैभन्दा पहिले टिकट खरिद गर्ने १० जनाले जुनसुकै टिकट श्रेणीमा २०० रुपैयाँ छुट पाउनेछन् ।

कार्यक्रमको टिकट एटिक रेस्टुरेन्ट एन्ड बारबाट प्रत्यक्ष रूपमा, फोनपोइन्ट्स एप तथा इसेवा इभेन्ट्समार्फत अनलाइन खरिद गर्न सकिनेछ ।

साहित्य, संगीत र व्यक्तिगत अनुभूतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले काठमाडौंको सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार