काठमाडौं । वस्तु तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई नगद पुरस्कार दिँदै आएको सरकारले अब बिल जारी गर्ने व्यापारीलाई पनि पुरस्कृत गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कारोबारमा बिल दिने र लिने दुवै पक्षलाई प्रोत्साहित गर्न विक्रेतालाई समेत नगद पुरस्कार उपलब्ध गराउने व्यवस्था गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित राजस्व समीक्षा बैठकमा अर्थमन्त्री वाग्लेले उपभोक्तालाई मात्र पुरस्कार दिँदा बिल लिने संस्कार विकास भए पनि विक्रेतालाई बिल जारी गर्न प्रोत्साहित गर्ने व्यवस्था आवश्यक देखिएको बताए। उनले कार्यक्रमको कार्यविधि संशोधन गरी विक्रेतालाई समेत समेट्ने प्रस्ताव ल्याउन विभागलाई निर्देशन दिएका हुन्।
सरकारले चालु आर्थिक वर्षको साउन १ गतेदेखि करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। वस्तु तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई नगद पुरस्कार दिएर कारोबारलाई औपचारिक बनाउने, कर छली नियन्त्रण गर्ने र राजस्व सङ्कलन बढाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। पछिल्लो व्यवस्थाले बिल लिने प्रवृत्ति बढाउन सहयोग गरेको सरकारी पक्षको निष्कर्ष छ।
तर उपभोक्तालाई बिल लिन प्रोत्साहित गरिए पनि व्यापारीले बिल जारी गर्न हिचकिचाउने गरेको गुनासो आएपछि सरकारले पुरस्कारको दायरा विस्तार गर्न लागेको हो। बिल लिने र दिने दुवै पक्षलाई प्रोत्साहन नगरेसम्म कारोबारमा पारदर्शिता बढाउने अभियान पूर्ण नहुने अर्थमन्त्री वाग्लेको भनाइ छ।