बाटो अवरुद्ध भएपछि व्यवसायीद्धारा तिब्बतबाट ल्याएको ड्रागन फ्रुट स्थानीयलाई निःशुल्क वितरण

जोमसोम । चीनबाट खरिद गरी राजधानी काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपियाँ बराबरको ड्रागन फ्रुट सडक अवरुद्ध भएपछि जोमसोममै थन्किएको छ।

बेनी–जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन्।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले सडकखण्डमा क्षति पुर्‍याएपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको थियो।

सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठूला सवारीसाधनसमेत सहजरूपमा आवतजावत गर्न नसक्ने भएपछि व्यवसायीले फल निःशुल्क वितरण गरेका हुन्।

व्यवसायीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा ९२४ क्यारेट ड्रागन फ्रुट थियो। लामो समयसम्म कन्टेनरमै राख्दा जोमसोमको दिउँसोको चर्को घाम र रातिको अत्यधिक चिसोका कारण फल बिग्रिन थालेपछि निःशुल्क वितरण गर्नुपरेको हो।

सुनुवारका अनुसार जोमसोममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन सकेन। सडकको अवस्थाका कारण ड्रागन फ्रुट बेनीसम्म पुर्‍याउनसमेत सम्भव नभएपछि स्थानीयलाई वितरण गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार