कांग्रेसको १५औँ महाधिवेशन : मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ। वर्षा र केही प्राविधिक कारणले यसअघि बिहान ७ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका तीन घण्टा सारिएको हो।

महाधिवेशनको अन्तिम मतदाता नामावलीमा ७ हजार २५५ प्रतिनिधि कायम भएका छन्। उनीहरूले कांग्रेसको आगामी केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदान काठमाडौंका विभिन्न केन्द्रमा प्रदेश तथा प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदानको व्यवस्था गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाइनेछ। मतदानलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन आचारसंहिता लागू गरिएको छ। महाधिवेशनस्थलमा चिटलगायत प्रचार सामग्री वितरणमा रोक लगाइएको छ।

तर उम्मेदवार र उनीहरूका समर्थकले विभिन्न माध्यमबाट प्रतिनिधिसँग मत माग्ने क्रम भने जारी छ। कतिपय उम्मेदवारले पोस्टर, ब्यानर र भिजिटिङ कार्ड प्रयोग गरेका छन् भने केहीले गीत, गजल र कवितामार्फत पनि प्रचार गरेका छन्। निर्वाचन समितिले भने चुनावी प्रचारमा डिजिटल प्रविधिको प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार