काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेका छन् । यससँगै इन्टरनेटको मूल्य बढेको छ । ५० एमबीपीएसभन्दा कम स्पिडको इन्टरनेट प्याकेज आजबाट लिन नपाइने हुँदा यदी त्यसभन्दा कम स्पिड लिएका ग्राहकले लिइरहेको न्यूनतम प्याकेजलाई बढाउनुपर्ने छ । आजदेखि नवीकरण गर्ने वा नयाँ सेवा लिने ग्राहकलाई मात्रै केही मूल्य बढ्ने भए पनि ५० एमबीपीएसभन्दा बढी मूल्यको प्याकेज भने यथावत् नै रहनेछ ।
इन्टरनेट सेवाप्रदायकहरूको संस्था (आइस्पान) ले ग्राहकहरूले लिइरहेको सेवाको गुणस्तर बढाउन र नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत गरेको दररेटअनुसार नै सेवा दिने गरी सस्तो प्याकेजलाई निरुत्साहित गरेको हो ।
आइस्पानको यस्तो निर्णयबाट सेवाप्रदायकहरूले २०, ३० र ४० एमबीपीएसमा बिक्री गरिरहेको प्याकेज ५० एमबीपीएसको मात्रै हुनेछ । यस्तो निर्णयपछि ४० एमबीपीएसको मासिक ९०७ रुपैयाँ शुल्क तोकेको भायनेटले अब ५० एमबीपीएसका लागि ९५१ रुपैयाँ लिने भएको छ ।
सुबिसुको २० एमबीपीएसको ७५१ रुपैयाँ र ३० एमबीपीएसको ८०२ रुपैयाँको प्याकेज भने अब ५० एमबीपीएसको मात्रै हुँदा मासिक ९०५ रुपैयाँको हुने भएको छ ।
वर्ल्डलिंकको भने मासिक ५० एमबीपीएसको ९५० रुपैयाँभन्दा माथिको मात्रै प्याकेज भएकाले मूल्य बढ्ने छैन । अरू सेवाप्रदायकहरूलाई पनि सेवाको दायरा र गुणस्तर बढाउन यसले सहयोग गर्ने उल्लेख छ ।