काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा योगदान दिँदा शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित तथा घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।
काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका योद्धा तथा उनीहरूका परिवारप्रति जिम्मेवारीबोध गर्दै उक्त कोष स्थापना गर्ने नीति अघि सारिएको हो।
प्रस्तावमा सम्बन्धित परिवारको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुर्याउन १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने उल्लेख छ। कोषको संकलन, सञ्चालन तथा लेखापरीक्षणलाई पारदर्शी बनाइने कांग्रेसले जनाएको छ।
त्यस्तै, सामाजिक तथा राष्ट्रिय सरोकारका विषयमा पार्टीलाई नागरिकसँग प्रत्यक्ष जोड्न नेपाली कांग्रेस (एनसी फर एनसी) अभियान सञ्चालन गर्ने प्रस्ताव पनि अघि सारिएको छ। कांग्रेसले जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, भ्रष्टाचार तथा असमानताविरुद्ध सामाजिक अभियान सञ्चालनलाई आफ्नो राजनीतिक जिम्मेवारीका रूपमा अघि बढाउने जनाएको छ।