काठमाण्डौ । नेपाली सेयरबजारका संस्थागत लगानीकर्ता म्युचुअल फन्डहरूको सूचीकृत सेयरमा रहेको लगानी मूल्य एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढीले घटेको छ। सञ्चालनमा रहेका ६० वटा सामूहिक लगानी कोषको भदौ मसान्तसम्म सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी रहेको छ।
साउन मसान्तमा यस्तो लगानी मूल्य ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। भदौ महिनाको वित्तीय विवरणअनुसार एक महिनामा फन्डहरूको सूचीकृत सेयर लगानी मूल्य करिब १ अर्ब ४९ लाख रुपैयाँ अर्थात् १.४७ प्रतिशतले घटेको हो।
समग्र सेयर लगानी मूल्य खुम्चिए पनि योजनागत विवरणमा भने फरक अवस्था देखिएको छ। सूचीकृत सेयरमा सबैभन्दा ठूलो लगानी एनआईबीएल सहभागिता फन्डको छ। सानिमा इक्विटी फन्ड–२ को सेयर लगानी मूल्य उल्लेख्य बढ्दा एनएमबी ५० को भने झन्डै आधाले घटेको छ। भदौ मसान्तसम्म एनआईबीएल सहभागिता फन्डको सूचीकृत सेयरमा ८ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ बराबरको लगानी रहेको छ। कुल ६० वटा फन्डको सूचीकृत सेयर लगानी मूल्यमा यस एउटै योजनाको हिस्सा करिब १३ प्रतिशत छ। ठूलो लगानीसहित अग्रस्थानमा रहेको यो फन्डको सेयर लगानी मूल्य पनि साउनको तुलनामा ०.९६ प्रतिशतले घटेको छ।
सानिमा इक्विटी फन्ड–२ सूचीकृत सेयरतर्फको लगानी मूल्य भने साउनको तुलनामा ३३९.१० प्रतिशतले बढेको छ। यो वृद्धिसँगै भदौ मसान्तमा यसको सेयर लगानी मूल्य ४५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। एनएमबी ५० ९ल्ःद्यछण्० को विवरणमा भने ठूलो गिरावट देखिएको छ। भदौमा यस योजनाको सूचीकृत सेयर लगानी मूल्य ४९.६९ प्रतिशतले घटेर १७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।
सूचीकृत सेयर लगानीको मूल्यमा हुने परिवर्तनमा फन्डहरूको खरिद–बिक्रीसँगै सेयरको बजार भाउको प्रभाव पनि पर्छ। त्यसैले समग्र लगानी मूल्यमा आएको एक अर्ब रुपैयाँभन्दा बढीको कमीले त्यति नै रकमको सेयर बिक्री भएको पुष्टि भने गर्दैन।