काठमाडौं । लगातार तीन कारोबार दिनको गिरावटपछि नेप्से परिसूचक बिहीबार सामान्य बढेर बन्द भएको छ। तर, सूचकमा आएको सुधार निकै न्यून रहेकाले बजारले २६ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सकेन। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको हो। बुधबार नेप्से ४.८२ अंकले घटेर २,५९८.८९ विन्दुमा झरेको थियो। त्यसअघि सोमबार १६.४७ अंक र मंगलबार ९.६२ अंकले घटेको थियो। यसरी तीन कारोबार दिनमा ३०.९१ अंक घटेको बजार बिहीबार भने झिनो अंकले सकारात्मक भएको हो।
बिहीबार कारोबार रकममा भने केही सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३५३ स्टकको ५१ हजार ७४५ पटकको कारोबारबाट ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल १ करोड २० लाख ६५ हजार कित्ता सेयर कारोबार भएको हो।
बजारमा कारोबार बढे पनि सूचक भने लगभग स्थिर रहनुले लगानीकर्ताको सक्रियता बढेको तर खरिद दबाब बलियो बन्न नसकेको देखिन्छ। पछिल्लो समय बजार २६ सय विन्दुको आसपासमा घुमिरहेको छ। यसअघि पनि २६ सय आसपासमा बजारले उतारचढाव देखाएको थियो। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.१४ अंकले बढेको छ। त्यस्तै फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेका छन्।