भारतबाट पेट्रोल-डिजेलको खरिद मूल्य बढेर आएतापनि दसैँमा उपभोक्तालाई आयल निगमले राहत दिने

महँगीको दबाब रोकियो, वित्तीय भार निगममा

काठमाण्डौ । भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँभन्दा बढी बढेर आए पनि नेपाल आयल निगमले तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। भोटेकोशीको असाधारण बाढीबाट सिर्जित परिस्थिति र नजिकिँदो चाडपर्वलाई ध्यानमा राख्दै निगमले बढेको लागत आफैं बेहोर्ने भएको हो।
यसले चाडपर्वको मुखमा उपभोक्तालाई इन्धनको थप महँगीबाट तत्काल राहत दिएको छ। तर, यही मूल्य कायम राख्दा निगमलाई आगामी १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि उपभोक्तासम्म तत्काल नसार्ने निर्णयसँगै निगमको वित्तीय भार भने उल्लेख्य बढ्ने देखिएको हो।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र डिजेल २० रुपैयाँ २१ पैसा महँगिएको छ। मट्टितेलको खरिद मूल्य प्रतिलिटर १५ रुपैयाँ ९६ पैसा तथा हवाई इन्धनको १८ रुपैयाँ ६६ पैसा बढेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको छ।

सबै प्रमुख पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि निगम सञ्चालक समितिको बुधबारको बैठकले साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो। उक्त निर्णय असोज १५ गते अर्थात् अक्टोबर १ को बिहान ००:०१ बजेदेखि लागू हुनेछ।

महँगीको दबाब रोकियो, वित्तीय भार निगममा
दसैँको समयमा यात्रु आवागमन, मालसामान ढुवानी र घरायसी इन्धनको माग बढ्छ। यस्तो बेला पेट्रोल तथा डिजेलको मूल्य बढेको भए त्यसको दबाब सवारी सञ्चालन र ढुवानी लागतमा समेत पर्न सक्थ्यो। ग्यासको मूल्य यथावत् राख्दा घरायसी उपभोक्ताले पनि तत्काल थप खर्च बेहोर्नुपर्ने छैन।

तर, उपभोक्तालाई दिइएको यो राहतको आर्थिक लागत निगमले वहन गर्नुपर्नेछ। निगमले सार्वजनिक गरेको पाक्षिक घाटाको प्रक्षेपणले खरिद र बिक्री मूल्यबीच ठूलो असन्तुलन उत्पन्न भएको देखाउँछ। यो रकम आगामी १५ दिनको अनुमानित घाटा होस वास्तविक घाटा बिक्री परिमाण र लागतअनुसार फरक पर्न सक्छ।

निगमले पेट्रोलियम पदार्थअनुसार छुट्टाछुट्टै घाटाको विवरण भने विज्ञप्तिमा खुलाएको छैन।

कहाँ कति छ इन्धनको मूल्य ?
साबिककै मूल्य कायम रहने भएकाले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल तथा मट्टितेल प्रतिलिटर २०० रुपैयाँमा बिक्री हुनेछन्। सुर्खेत र दाङमा यी पदार्थको मूल्य प्रतिलिटर १९९ रुपैयाँ तथा पहिलो वर्गमा पर्ने क्षेत्रमा १९७ रुपैयाँ ५० पैसा कायम छ।

खाना पकाउने १४.२ किलोको एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ। आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर २४९ रुपैयाँ र काठमाडौंका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १ हजार ६७७ अमेरिकी डलर छ।

निगमका अनुसार पेट्रोलियम पदार्थको उक्त मूल्य डिपो वा कार्यालयबाट १५ किलोमिटरसम्म तथा एलपी ग्यासको हकमा उद्योगबाट ५० किलोमिटरसम्मका लागि कायम गरिएको हो। अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको हवाई इन्धन बिक्री मूल्य भने लागत बराबर हुने बिन्दु अर्थात् ‘ब्रेकइभन’मा कायम गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार