‘एमआरपी’भन्दा बढी मूल्य लिएपछि होण्डा आयातकर्ता स्याकार ट्रेडिङलाई ३ लाख जरिवाना

काठमाडौं । होण्डा ब्राण्डका मोटरसाइकलको आधिकारिक आयातकर्ता स्याकार ट्रेडिङ प्रालिलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा स्पेयर पार्ट्स बिक्री गरेको भन्दै तीन लाख रुपियाँ जरिवाना गराइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ललितपुरको कुमारीपाटीस्थित स्याकार ट्रेडिङको शोरुममा एमआरपीभन्दा बढी मूल्यमा स्पेयर पार्ट्स बिक्री भइरहेको फेला पारेपछि कम्पनीलाई जरिवाना गरेको जनाएको छ ।

विभागका अनुसार एमआरपी एक हजार छ सय रुपियाँ तोकिएको स्पेयर पार्ट्स उपभोक्तालाई एक हजार आठ सय रुपियाँमा बिक्री गरिएको पाइएको थियो। उक्त विषयमा विभागमा उजुरी परेपछि अनुगमन टोलीले शोरुममा निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा एमआरपीभन्दा दुई सय रुपियाँ बढी लिएर स्पेयर पार्ट्स बिक्री गरेको पुष्टि भएपछि कारबाही गरिएको विभागका प्रवक्ता अनिल किराँतीले जानकारी दिए ।

किराँतीका अनुसार एमआरपीभन्दा बढी मूल्यमा वस्तु बिक्री गर्ने व्यवसायी तथा कम्पनीमाथि विभागले कडाइका साथ कारबाही गरिरहेको छ। स्याकार ट्रेडिङ प्रालि नेपालको व्यावसायिक समूह ज्योति समूहअन्तर्गतको कम्पनी हो । कम्पनीको नेतृत्व सौरभ ज्योतीले गर्दै आएका छन्। उनी अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्षसमेत हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार