मन्त्री फेरिएलगत्तै ग्यास लुकाउनेमाथि कडा कारबाही, विभिन्न ठाउँमा प्रहरीको छापा

उपभोक्तासँग धेरै पैसा असुल्ने र मिलेमतोमा ग्यास बेच्ने दुई व्यवसायीलाई ६ लाख जरिवाना

काठमाडाैँ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिइन्। ग्यास आपूर्तिमा कर्मचारीले साथ नदिएको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ जस्ता विवादित भनाइ पछि उनको चौतर्फी आलोचना भएको थियो। उनी मन्त्री छँदै देशमा ग्यासको अभाव सुरु भइसकेको थियो।

भन्सार विभागको तथ्याङ्कले भने अघिल्ला महिनाहरूको तुलनामा नेपालमा ग्यासको आयात बढेको देखाउँछ। तर, पूर्वमन्त्री यादवले समस्या सुल्झाउन सही भूमिका खेल्न सकिनन्। उल्टै कर्मचारी र व्यवसायीलाई उकास्ने खालका अभिव्यक्ति दिएपछि उनले राजीनामा नै दिनुपर्ने स्थिति आयो।

तथापि, उहाँले राजीनामा दिएकै दिनदेखि सरकारले थालेको छानबिन र कारबाहीले व्यवसायीहरूले ग्यास बिक्रीमा ठूलो बदमासी गरिरहेको आशङ्का पैदा गरेको छ।

  • एकै दिन हजारभन्दा बढी सिलिन्डर बरामद: शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको नरेफाँट र सामाखुसीका ग्यास पसलबाट लुकाएर राखिएका ३७२ वटा ग्यास सिलिन्डर पक्राउ गर्‍यो। प्रहरीले नरेफाँटको रामेछाप ब्रान्ड ग्यास डिलरका सञ्चालक र वसुन्धरास्थित हाम्रो सगरमाथा सहकारीबाट ग्यास कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।

  • अन्य ठाउँमा पनि छापा: प्रहरीले शुक्रबार नै गैरीगाउँ (तीनकुने) बाट दुई वटा ट्रकमा राखिएका ७०० वटा सिलिन्डर बरामद गर्‍यो। ग्यासको कालोबजारी गरेको अभियोगमा वसुन्धराको जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक पनि पक्राउ परेका छन्।

  • व्यवसायीलाई ६ लाख जरिवाना: वाणिज्य विभागले उपभोक्तासँग धेरै पैसा असुल्ने र मिलेमतोमा ग्यास बेच्ने दुई व्यवसायीलाई ३/३ लाख रुपैयाँका दरले कुल ६ लाख रुपैयाँ जरिवाना गराएको छ। जरिवानामा पर्नेहरूमा कागेश्वरी मनोहरा-६ को अनिल किराना पसल र ललितपुर बालकुमारीको ग्यास पम्प रहेका छन्। यसअघि बिहीबार पनि भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेंबाट २८ थान ग्यास सिलिन्डर प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसैबीच, नवनियुक्त उद्योगमन्त्री दीपक साहले शुक्रबार शपथ ग्रहणलगत्तै ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूसँग छलफल सुरु गरेका छन्। उनले उपभोक्ताले सहजै ग्यास पाउनुपर्ने कुरामा जोड दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार