काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरको मागसहित सुरु भएको जेनजी आन्दोलनले अपेक्षा गरेअनुसारको परिवर्तन ल्याउन नसकेको बताएका छन्।
भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट जेनजी आन्दोलन सुरु भएको थियो। बुधबार उक्त आन्दोलनको एक वर्ष पूरा भएको छ।
सोही अवसरमा प्रचण्डले अहिले फेरि नागरिकमा निराशा देखिएको बताएका छन्। ‘जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ? भ्रष्टाचार अन्त्य हुन्छ, सुशासन स्थापित हुन्छ, रोजगारी र अवसर बढ्छन् तथा राज्य जनताप्रति उत्तरदायी हुन्छ भन्ने अपेक्षा गरेका नागरिकहरू आज फेरि निराश छन्,’ उनले भनेका छन्।
प्रचण्डले महँगी बढेको, अर्थतन्त्र शिथिल रहेको र व्यवसायी निराश रहेको बताएका छन्। रोजगारीका अवसर पर्याप्त नभएको, विदेशिने युवाको संख्या बढिरहेको, सार्वजनिक ऋण बढ्दै गएको तथा जनतामाथि करको बोझ थपिएको पनि उनले उल्लेख गरेका छन्।
विपद्का बेला नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसक्ने अवस्था देखिएको तथा सुकुम्बासी, गरिब र उत्पीडित वर्ग तथा समुदायमाथि निरंकुशताको डण्डा बर्सिरहेको उनको दाबी छ।
आन्दोलनको एक वर्षपछि परिवर्तनको प्रश्न उठाएका प्रचण्डले आन्दोलनकै क्रममा भएको हिंसा, लुटपाट र विध्वंसको विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।