मान्छेको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण, नौ महिनासम्म गर्‍यो काम 

काठमाडौं । मान्छेको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले नौ महिनासम्म काम गरेको छ । अमेरिकी नागरिक टिम एन्ड्रुको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले २७१ दिनसम्म काम गरेको हो ।

हालसम्मको स्थितिमा यो नै नयाँ कीर्तिमान रहेको अमेरिकी चिकित्सकहरूले बताएका छन् । यसअघिको प्रत्यारोपण भने असफल भएको थियो ।

अमेरिकाको मास जेनेरल ब्रिघम अस्पतालमा एन्डुमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि केही महिनाका लागि डायलेसिसको झन्झटबाट आफू मुक्त भएको उनले बताएका छन् । यो सफलतापछि अस्पतालले केही महिनाका लागि सुँगुरको मिर्गौला विकल्पका रूपमा प्रत्यारोपण गर्न सकिने बताएको छ । प्रत्यारोपणका लागि मानिसको मिर्गौला उपलब्ध नहुँदाको अवधिसम्म सुँगुरको मिर्गौला प्रयोग गर्न सकिने अस्पतालको भनाइ छ ।

२७१ दिनपछि एन्ड्रुको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौला पनि फेल भयो । त्यसपछि उनले मिर्गौला दान गर्ने व्यक्ति नपाउँदासम्म डायलेसिस गर्नुपर्‍यो ।

मानव अंगको अभावसँगै वैज्ञानिकहरूले अन्य प्रजातिका अंग मानिसको शरीरमा प्रयोग गर्ने प्रविधि(जेनोट्रान्सप्लान्टेसन)तर्फ अध्ययन अनुसन्धान गरिरहेका छन् ।

अमेरिकामा वार्षिक एक लाख मानिसहरूमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने देखिन्छ । वार्षिक २५ हजारमा भने मिर्गौला प्रत्यारोपण गरिन्छ । बेलायतमा वार्षिक सात हजार मानिसमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने देखिन्छ । एन्ड्रुलाई मिर्गौला प्रत्यारोपणका लागि सात वर्ष कुर्नुपर्ने भनिएको थियो । जबकी डायलेसिसबाट औसतमा मानिसको आयु पाँचवर्ष मात्रै तन्काउन सकिन्छ । ”मसँगै निकै कम समय थियो, म निकै निरास भइसकेको थिएँ,” उनले भनेका छन् ।

सुँगुरको मिर्गौला प्रत्यारोपण आफ्ना लागि नयाँ आशा बनेको उनले बताए । ”डायलेसिसबाट केही समय मुक्त हुँदै नयाँ जीवनको आशा मलाई सुँगुरको मिर्गौलाले दियो,” उनले भने ।

सुँगुरमा आनुवंशिक सुधार गर्दै त्यसको अंगलाई मानिसको शरीरमा प्रत्यारोपण योग्य बनाइएको थियो । शल्यक्रिया चिकित्सकहरूले सुँगुरको मिर्गौलालाई उनको रक्तनलीसँग जोडिदिएका थिए । त्यसले एन्ड्रुको रगत फिल्टर गर्ने काम गर्थ्यो ।

जेनोट्रान्सप्लान्टेसनका लागि सुँगुर निकै उत्तम मानिन्छ । उनीहरूको अंग लगभग मानवअंग बराबरकै हुने वैज्ञानिकहरूको भनाइ छ ।

पशुपालन प्रयोजनका सुँगुरका अंग मानिसको सिधै प्रत्यारोपण गर्न नमिल्ने वैज्ञानिकहरूको भनाइ छ । यसका लागि सुँगुरको आनुवंशिक सुधार अनिवार्य छ ।

मानव शरीरमा अमिल्दा अंग प्रत्यारोपण भएमा त्यसले विनाशकारी प्रतिरक्षात्मक प्रणाली विकसित गराउँदै कोशिकाहरू रगत जमाउने वैज्ञानिकहरूको भनाइ छ । मानव अंगमा प्रत्यारोपण प्रयोजनका लागि वैज्ञानिकहरूले युकाटन नामका साना सुँगुरहरू विकास गरेका छन् । त्यसका अंगहरू मानवअनुकुल बनाइएका छन् । यसका लागि ती सुँगुरमा ६९ वटा आनुवंशिक सुधार गरिएको छ ।

यी आनुवंशिक सुधारले सुँगुरका कोशिकाबाट केही तत्त्व हटाइदिन्छ । त्यो मानव शरीरको प्रतिरक्षा प्रणाली अनुकूल हुने वैज्ञानिकहरूको भनाइ छ। यसरी सुधार गरिएको सुँगुरका अंगका तन्तुमा मानव प्रतिरक्षा प्रणाली अनुकूलको केही डीएनए रहने बताइएको छ । यसले मानिसमा संक्रमण रोक्नका लागि सुँगुरको डिएनएमा लुकेर बसेका भाइरसहरूलाई निष्क्रिय पार्ने वैज्ञानिकहरूले बताएका छन् ।

के सुँगुर अंग प्रत्यारोपणका लागि नयाँ विकल्प हो ?

मधुमेहका कारण एन्ड्रुका मिर्गौला काम नगर्ने चरणमा पुगिरहेका थिए । सुँगुरका मिर्गौला प्रत्यारोपण गर्दा उनी ६६ वर्षका थिए । प्रत्यारोपण गरिएका सुँगुरका मिर्गौलाले एन्ड्रुको शरीरमा २७१ दिनसम् काम गर्‍यो । त्यसपछिका ८२ दिन मात्रै मानव अंग नपाउँदासम्म उनले डायलेसिस गर्नुपर्‍यो । एन्ड्रुको अनुभवमा सुँगुरको मिर्गौलाले उनको शरीरमा निकै राम्रो काम गर्‍यो ।

चिकित्सक लियोनार्दो रियला मानव अंगको अभावले संकट निम्त्याइरहेको बताउँछन् । त्यसैले विकल्पको उपयुक्त खोजी भइरहँदा सुँगुरका मिर्गौलाले आशा दिएको उनले बताए । ”हामीले विकल्पको खोजी गरिरहेका थियौँ । सुँगुरको मिर्गौलाले हामीलाई आशावादी बनायो,” उनले भने ।

एन्ड्रुअघि यसको परीक्षण नभएको भने होइन । पहिलोपटक सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको भने मृत्यु भएको थियो । एन्ड्रुको शरीरले पनि सुरुमा सुँगुरको मिर्गौलालाई स्वीकार गरिरहेको थिएन । औषधीको माध्यबाट चिकित्सकहरूले शरीर अनुकूल बनाए । ६ महिनापछि किड्नीका रक्तनलीमा समस्या देखा पर्न थाल्यो । औषधी उपचारबाट त्यसलाई फेरि सन्तुलनमा ल्याइएको थियो ।

सुँगुरको मिर्गौलामा एन्टीबडीले आक्रमण गरेको कुनै लक्षण नदिएकाले त्यसको खास कारण भने स्पष्ट हुन सकेको छैन । मेडिकल जर्नल ल्यान्सेटमा चिकित्सकहरूले भनेका छन् । ”यस दृष्टान्तले मिर्गौलाको क्लिनिकल जेनोट्रान्सप्लान्टेनसमा यो घटनाले संभावना र चुनौती दुवैको उजागर गर्छ । ”

बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार