बाढीको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा देखिन थाल्यो

काठमाडौं । १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा पर्न थालेको छ ।

बाढी र कटानका कारण उपत्यका भित्रिने मुख्य सडकहरू भासिँदा र मालवाहक गाडी बाटैमा रोकिँदा काठमाडौंमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित भएको छ ।

यही कारण बजारमा खाद्यान्न, खानेतेल, हरियो तरकारी, फलफूल लगायत दैनिक अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ ।

काठमाडौं उपत्यकाको ‘लाइफलाइन’ मानिने नागढुंगा-मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभिरमा त्रिशूलीको बाढीले सडक कटान गरेर भासिएको छ ।

त्यस्तै बुधबार बिहान मात्रै नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत नागढुंगा नजिकैको पातले वनमा सडक भासिएपछि कृष्णभिर यताबाट चल्ने यातायात पनि पूर्णरूपमा प्रभावित भएको छ ।

आइतबारदेखि नै मालवाहक सवारी काठमाडौं भित्रिन र बाहिरिन नपाउँदा बजारमा सामान आपूर्ति प्रभावित भएको हो । उपभोक्ताले बजारमा अभाव हुने हो कि भनेर खाद्यान्नको जोहो गर्न थालिसकेका छन् ।

बाटो बन्द भएको बहानामा थोक (होलसेल) व्यापारीले भइरहेको सामान पनि लुकाउन थालेपछि खुद्रा बजारमा महँगी बढेको उपभोक्ताले आरोप लगाएका छन् ।

तर, खुद्रा व्यापारीहरू भने ढुवानी भाडा महँगो भएपछि समस्या भएको दाबी गर्छन् । नयाँ बानेश्वरका एक किराना व्यापारीका अनुसार केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा पाइने चिनीको मूल्य अहिले १ सय ४० रुपैयाँ पुगेको छ ।

‘होलसेलमा चिनी नै छैन भन्छन्, सर्टेज भइसक्यो,’ ती व्यापारीले भने, ‘महँगो भएर किन्न नसकिने अवस्था आएपछि मैले बेच्नै छाडेँ, महँगो भनेर उपभोक्ता नै रिसाउन थालेपछि ल्याएको छैन ।

त्यस्तै चामल र खानेतेलको मूल्यमा पनि अचाक्ली वृद्धि भएको छ । बजारमा सबैथरी चामलको मूल्य प्रतिबोरा कम्तीमा २ सयदेखि ३ सय रुपैयाँसम्म बढेको छ । पहिले २ हजार ४ सय रुपैयाँ पर्ने २० किलोको जिरा मसिनो चामलको मूल्य अहिले २ हजार ६ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।

सनफ्लावर तेलको मूल्य ब्रान्ड अनुसार प्रतिलिटर ३ सयदेखि ३ सय ५० रुपैयाँ र तोरीको तेल ४ सय रुपैयाँ हाराहारी पुगेको व्यापारीको दाबी छ । दाल र गेडागुडीको मूल्य भने अहिलेसम्म बढिसकेको छैन, तर बाटो खुल्ने समय लम्बिँदै गए त्यसको मूल्य पनि बढ्ने व्यापारीहरू बताउँछन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खानेतेल, चामल, लगायत वस्तुको मूल्य पहिलेदेखि नै महँगो नै रहेको र देशमा अप्रत्याशित आएको विपत्तिले झनै असर पार्न थालेको छ ।

बाढीपहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा तत्काल खाद्यान्न अभाव नरहेको संघले जनाएको छ । यद्यपि, केही दिनपछि बजारमा यसको असर अझै चुलिन सक्ने र विशेषगरी थोक व्यापारीले सही बिल नदिँदा चिनीको व्यापारमै समस्या आएको संघको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार